प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित
काठमाडौँ । असोज १४, प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बहिस्कार गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी सहभागी भएको बैठकमा नजाने भन्दै एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको जनाइएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक डाकेका हुन् ।