आज देशभर एमालेको पालिका अधिवेशन हुँदै
काठमाडौं । कात्तिक ९, नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो ।
अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।
प्राविधिक र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ ।
सिरहाको लहान नगरपालिकामा भने आइतबार नै नगर अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।