गैरसांसदको हैसियतमा मन्त्री बनेका कर्णालीका तीन जना आज पदमुक्त हुँदै
सुर्खेत । कात्तिक १५, प्रदेशसभा सदस्य नरहेका कारण कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेका व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीन मन्त्रीको पदावधि आजदेखि सकिन लागेको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुँदैछन् ।
तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले)का सांसद हुन् । पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए ।
त्यसलगत्तै मुखयमन्त्री शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरुले सांसद पद गुमाउनु भएको हो ।
प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध छन् ।
आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।