योगेश भट्टराई र भीम रावलहरुले एमालेमा कसरी गुमाउँदैछन् शक्ति ?
काठमाडौं । पुस २८, चितवनको सौराहामा नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र चलिरहेको थियो।
निर्वाचन नगरी ध्वनि मतका आधारमा अध्यक्षदेखि १९ पदाधिकारीसहित ३०१ जनाको नामावली केपी शर्मा ओलीले वाचन गर्न थाले।
त्यसमा असन्तुष्टि जनाउँदै नेता भीम रावलले निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अडान राखे। उनी अध्यक्ष पदमा ओलीलाई चुनौती दिने मनस्थितिमा थिए।
ओलीले अन्तिमसम्म सम्झाउन कोसिस गरे तर, रावलले मानेनन्। सर्वसम्मत हुने दाउमा रहेका ओलीलाई चुनौती दिँदै रावलले अध्यक्षमा उम्मेदवारी दिए। रावलकै साथ लागेर तत्कालीन उपमहासचिव घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिए।
ओलीको सूचीमा नपरेका तत्कालीन सचिव भीम आचार्यले पनि त्यही पदम उम्मेदवारी दिए।
यी तिनै नेता माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीमा नलागी गत असार २७ गते राति भएको दस बुँदे सम्झौताका आधारमा एमालेमै बसेका नेता थिए।
नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट रावल उपाध्यक्ष, भुसाल उपमहासचिव र आचार्य सचिवमा विजयी भएका थिए।
तर, दसौँ महाधिवेशनमा तिनै नेताले उम्मेदवारी दिएका पदमा जित्न सकेनन्। रावलले त एमालेको केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका छन्। यद्यपि अहिले पनि उनी एमालेकै नेताका रुपमा सक्रिय छन्।