फेरि चुनाव लड्ने तयारीमा आधा शताब्दीदेखिका वडाध्यक्ष
काठमाडौं। चैत ११, आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।
चुनावका लागि राजनीतिक दलहरूले अहिले घोषणापत्र बनाउनेदेखि विभिन्न कार्यक्रम गरिरहेका छन्। आकांक्षीहरू उम्मेदवार बन्न लबिङमा लागिरहेका छन्।
ललितपुर(१० का ८१ वर्षीय नरसिंह व्यञ्जनकारलाई पनि चुनाव लागेको छ। बहालवाला वडाध्यक्ष नरसिंहलाई चुनाव लाग्नुको अर्थ घरदैलो गर्ने, पर्चा पम्पलेट छाप्ने, प्रचार प्रसार गर्ने होइन। उनलाई चुनाव लागेको छ किनकी उनले फेरि पनि वडाध्यक्ष लड्न योजना बनाएका छन्।
१९९७ साल मंसिर १२ गते कुपन्डोलमा जन्मिएका नरसिंहले झन्डै आधा शताब्दी वडाध्यक्ष भएर बिताइसके।
कुपन्डोलदेखि यता नारायणी होटलसम्म र उता चाकुपाट हुँदै कृष्णगल्लीसम्मको क्षेत्रमा ओहोरदोहोर गर्दै उनको जिन्दगीका ४९ वर्ष बितिगए। आधा शताब्दीमा यो क्षेत्रको स्वरूप धेरै फेरियो तर नरसिंहको काम भने उस्तै छ।
नरसिंह ललितपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्। उनले यो वडाको नेतृत्व सम्हालेको दसौंपल्ट हो। तीमध्ये ९ पटक उनले स्वतन्त्र उम्मेदवार बनेरै चुनाव जिते।
यो वडामा १० हजारभन्दा बढी जनसंख्या छ। उनी बिहान उठेर दिनहुँ टोलको एक फन्को मार्छन्। यो उनको दैनिकी नै भएको छ। कता के भइरहेको छ आफैं गएर हेर्छन् र बुझ्छन्। दिनभरि के गर्ने, कहाँ जाने र क(कसलाई भेट्ने टुंगो लगाउँछन्। त्यसपछि खाना खान केहीबेर घर जान्छन्। त्यसपछि खाना खाएर कार्यालय जान्छन्।