संसद् विघटनको प्रस्ताव पाकिस्तानी राष्ट्रपति द्वारा सदर

सहयात्रा टिभी

काठमाडौं। चैत २०, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् ।

प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका थिए ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले बताए ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् ।

विपक्षले आफू विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् ।

 

 

प्रकाशित : 3 April, 2022

प्रतिक्रिया दिनुहोस्