काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ ।

संघीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले गत २२ चैतमा जारी गरेको अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको शान्ति सुरक्षाको सिधै केन्द्र मातहत हुने उल्लेख छ ।

बागमती प्रदेश प्रहरीको अधिकारी कटौती हुने गरी व्यवस्था गरिएको अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई त्यही नामको अध्यादेश २०७८ का नामबाट जारी भएको हो । ऐनको दफा १० मा भएको व्यवस्थामा ‘क’ थपेर उपत्यकाका तीन जिल्लाका जिल्ला प्रहरी कार्यालय सोझै नेपाल प्रहरी मातहत हुने बनाइएको छ ।

अध्यादेशमा भनिएको छ, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा प्रदेश प्रहरीको काम कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने ।’ अध्यादेशमा ती कामका लागि नेपाल प्रहरी मातहत तीनवटै जिल्लामा प्रहरी कार्यालय हुने उल्लेख छ ।

संघीय प्रहरी ऐन बन्न नसकेका कारण हाल उपत्यकाका प्रहरी कार्यालयहरु नेपाल प्रहरी मातहत थिए । सरकारले ऐन जारी नगरेपछि प्रदेश सरकारले धमाधम प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी भर्ना गर्ने चेतावनी दिन थाले ।

त्यही क्रममा कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन जारी भएको थियो । काठमाडौं उपत्यकामा ऐनको प्रावधान कार्यान्वयन हुन नपाउँदै सरकारले अध्यादेश मार्फत उपत्यकामा संघीय तहको प्रहरीमात्रै रहने व्यवस्था मिलाएको हो ।

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्