मेयर साहलाई शुभकामना दिँदै स्थापितले भने : रचनात्मक सहयोग रहने छ
काठमाडौँ । जेठ १३, काठमाडौँ महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नवनिर्वाचित मेयर वालेन्द्र साह (बालेन) लाई शुभकामना दिएका छन् ।
एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका स्थापितले साहलाई शुभकामना दिँदै काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् ।
चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै स्थापितले साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् ।
‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु,’ स्थापितले भनेका छन्,’काठमाडौंको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु ।’
साथै स्थापितले लोकप्रिय मतसहित उपमेयर पदमा विजयी सुनिता डंगोललाई पनि शुभकामना दिएका छन् । ‘तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।’ स्थापितले भनेका छन् ।
स्थापितले आफू पटक पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको उल्लेख गर्दै यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन् ।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु ।’ उनले भनेछन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’