सुदूरपश्चिम र मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौँ । जेठ २२, सुदूरपश्चिम र मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएका छन् ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिवारर बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा आव २०७९/८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रमपश्चात प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा १०१ सदस्य छन् ।
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस वर्ष पनि ढिला गरी प्रस्तुत हुन लागेको हो।
आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पनि राजनीतिक उतार चढावका कारण ढिला गरी सभामा पेस भएको थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १५ भित्र ल्याइसक्नुपर्नेमा सभामा ढिला गरी पेस हुन लागेको हो।
स्थानीय तहको निर्वाचनका कारण मतगणना प्रक्रियाले सभा ढिला गरी सुरु भएको थियो। जेठ १६ गतेदेखि सुरु भएको प्रदेश सभाको दशौँ अधिवेशनको प्रथम बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले विनियोजन विधेयक २०७९ का सिद्धान्त तथा प्राथमिकतालाई छलफलका लागि पेस गरेका थिए।
उक्त विधेयकमाथि सभामा तीन दिनसम्म व्यापक छलफल गरिएको थियो। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।