काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम आज
काठमाडौँ । असार ५, काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक गरिने तयारी भएको जानकारी महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले दिएका हुन् ।
गएको स्थानीय निकायको निर्वाचनमा महानगरपालिकाको मेयर पदको उम्मेदवारी घोषणा गर्दा ताकादेखि नै अत्यन्तै महत्वाकांक्षी योजना अगाडि सारेका बालेन्द्र शाहको योजनामा आउन लागेको नीति तथा कार्यक्रमप्रति धेरैले चासो व्यक्त गरेका छन् ।
प्रवक्ता आचार्यका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम आज प्रस्तुत भएपछि त्यसैको आधारमा असार १० गते बजेट प्रस्तुत हुनेछ ।
स्थानीय निकायको निर्वाचन हुनु भन्दा अगाडिदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापनमा तदारुकता देखाएका शाहका समर्थकहरुले महानगरपालिकाका वडाध्यक्षहरुले साथ नदिएको आरोपसमेत लगाउने गरेका छन् भने केहीले साह सुरुवाती चरणमै आफ्ना योजनामा चुकेको आरोप समेत लाग्न थालेको छ ।
आफू स्वतन्त्र भएको कारण राजनीतिक दलका प्रतिनिधिहरुसँग काम गर्न असहज हुन सक्ने लखका कारण महानगरपालिकाका हरेक गतिविधिको प्रत्येक्ष प्रसारण गर्ने घोषणा गरेका शाहले केही दिन अगाडि एक टेलिभिजनका संवाददाता र क्यामरा पर्सनलाई दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ ।
महानगरपालिकाको मेयरमा निर्वाचित भएर पद तथा गोपनियताको सपथ खाए पछि जेठ १६ गतेको पहिलो नगरसभाको बैठकको प्रत्येक्ष प्रसारण गरेका शाहले महानगरको नीति तथा कार्यक्रम भने प्रत्यक्ष प्रसारण नगर्ने बुझिएको छ ।