वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

सहयात्रा टिभी

काठमाडौँ । असार १४, नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ राजनीतिक दल गठन गरेका छन् । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा दलसँग मिलेर गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) नामको अलग दल गठन गरेका हुन् ।

उनी निकट स्रोतका अनुसार उक्त दलको अध्यक्ष गौतम आफै हुनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने बताइएको छ । अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।

गौतमले शनिबार मात्रै अभियानको राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्