माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज
काठमाडौँ । असार १९, वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षालगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
बैठकमा स्थानीय चुनावको समीक्षाका साथै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो भने अरु पदाधिकारी चयन भएका थिएनन्।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका थिए।
महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन।
पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ।