अर्थमन्त्री प्रकरणका बीच अर्थ सचिव मरासिनी बिदामा

सहयात्रा टिभी

काठमाडौँ । असार २२, बजेट निर्माणका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ ।

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयभित्र प्रवेश दिएको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठिरहेको अवस्थामा अर्थ सचिव मरासिनी लामो बिदामा बसेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै उक्त बेलाको सीसीटीभी फुटेज नै मेटिएको भन्ने अर्थ मन्त्रालयको जवाफ पछि अर्थमन्त्रीमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्