प्रतिनिधि सभाले आज उपसभामुख पाउँदै
सहयात्रा टिभी
काठमाडौँ । ३१ असार, प्रतिनिधि सभाको उपसभामुख चयन गर्न आज निर्वाचन हुँदै छ।
संसद सचिवालयका अनुसार दिउँसो ३ बजे उपसभामुख चुन्न मतदान हुनेछ । यसअघि हिजो बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले बिहीबार दिउँसो ११ बजेदेखि १ बजेसम्म समय तोकेको थियो।
हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म यो पद खाली रहेको थियो ।