सत्ता गठबन्धनको बैठक आज पनि, सिट बाँडफाँटमै सकस

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ। निर्णायक भनिएको शनिबारको बैठकसमेत बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटको टुंगो लगाउन आइतबार बिहान ८ : ३० बजे पुनः बैठक बस्दैछ ।

फाइल तस्वीर

दलहरुको आ–आफ्नै अडान र दाबीका कारण सिट बाँडफाँटमा समस्या भइरहेको हो। यद्यपि, नेताहरुले भने आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको र सिट बाँडफाँट चाँडै टुंगिने बताउँदै आएका छन्।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि उक्त बैठक अनौपचारिक छलफल गरेर टुंगिएको थियो।

गठबन्धन दलभित्र १६५ सिटको भागबण्डा गर्नु पर्नेमा सबैको दाबी जोड्दा २१५ सिट पुगेको एक नेताले बताएका छन्। उनका अनुसार यसरी बढी भएको ५० सिटको हिसाब कसरी मिलाउने? कसको दाबीमा कताबाट कसरी घटाउने? भन्ने विषयमा छलफल बढी केन्द्रित भएको छ।

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्