राष्ट्रपतिको कदमविरूद्ध सत्तारूढ ३ दलका युवा संगठनले विरोध प्रदर्शन गर्ने

सहयात्रा टिभी

काठमाडाै । असोज ६, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सत्तारूढ तीन दलका भ्रातृ युवा संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्।

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिष्ट लिग (वाइसिएल) अध्यक्ष सुवोधराज सेर्पालीले बुधबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन्।

संसदको दुवै सदनबाट पारित नागरिकत विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित भएको उनीहरूको भनाइ छ। ‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले बिहीबार दिउँसो २ बजे माइतीघर मण्डलमा विरोध कार्यक्रम गर्ने पनि बताएका छन्। सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष निकालेका थिए।

प्रकाशित : 22 September, 2022

प्रतिक्रिया दिनुहोस्