विमानस्थल क्षेत्रमा विद्युतीकरण गरेको कारण दुई सरकारी निकायबीच द्वन्द्व
काठमाडौं । असोज १२, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र (निजगढ) को घना जंगलभित्र रहेको टाँगियाबस्ती क्षेत्रमा कानुन विपरीत विद्युतीकरण गरेको भन्दै डिभिजन वन कार्यालय बाराले नेपाल विद्युत प्राधिकरणका कर्मचारीविरुद्व कारवाहीको तयारी गरेको छ ।
राष्ट्रिय वन क्षेत्रभित्र विद्युत प्रसारण लाईन जडान गरेकोमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दर्ता गर्नेगरी वन कार्यालय बाराले प्रमाण जुटाउने काम सुरु गरेको छ ।
डिभिजन वन अधिकृत विनोद सिंहले अनुसन्धान अधिकृत खटाएर प्रमाण जुटाउने काम भइरहेको भन्दै जुनसुकै दिन मुद्दा दर्ता हुनसक्ने बताए ।
गत शनिबार बारा क्षेत्र नं ३ का संघीय सांसद रामबाबु कुमार यादवले जीतपुर सिमरा उपमहानगर वडा नं १६, टाँगियाबस्तीमा विद्युत प्रसारण लाइनको उद्घाटन गरेका थिए ।
प्राधिकरणले २ करोड ३४ लाख ४२ हजार लागतमा भदौ अन्तिम साता टाँगियाबस्तीमा विद्युतीकरण सम्पन्न गरेको थियो ।
सो क्षेत्रको बस्तीलाई अन्यत्र व्यवस्थापनमा आलटाल गरेर सरकारकै अर्को निकाय (ऊर्जा मन्त्रालयल) ले प्राधिकरण सिमरा शाखामार्फत गैरकानुनी ढंगले विद्युत प्रसारण लाईन जडान गर्नु आपत्तिजनक भएको वन अधिकृत सिंहको भनाइ छ ।