घोषणापत्रमा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण

काठमाडौँ । कात्तिक १५, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण दिएका छन् ।

ओलीले आफू प्रधानमन्त्री भएपछि राजनीतिक स्थायीत्व हासिल भएको, प्रणालीगत स्थिरता काम भएको र राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएको बताएका छन् ।
तर सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएपछि त्यसलाई असफल बनाउने प्रयास भएको उनले उल्लेख गरेका छन् ।
सत्तारुढ गठबन्धनले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमन भनेका छन् ।
जनादेशप्राप्त आफ्नो सरकार हटाएर सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्नु प्रतिगमन भएको ओलीको जिकिर छ । ओलीले आउँदो निर्वाचनलाई षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनर्स्थापित गर्ने मौका भनेका छन् ।