राप्रपाका दीपक सिंहले कमल थापा र डिनालाई हराउँदै विजयी

काठमाडौं । मंसिर ८, मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् ।
चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त हेरेका थिए, तर प्रतिस्पर्धी मान्न तयार थिएनन् ।
जब हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डिनालाई अग्रता जोगाउन सकस मात्रै परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै कमल थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।
एकाएक नगर क्षेत्रबाट आएको मतले दीपक सिंहलाई संसदको ढोका खोलिदियो । जुन, मतपरिणाम कांग्रेस, एमाले, राप्रपा नेपालका लागि ‘सरप्राइज’ थियो ।
अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए ।
हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे ।अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे । अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।
पञ्चायतकालदेखिका नै कमल थापालाई साथ दिंदै आएका थिए सिंहले । उनै सिंहको लोकप्रियतासँग यसपल्ट थापाले माथ खानुप¥यो । एमालेको बलमा चुनाव जित्ने थापाको रणनीतिलाई सिंहको जितले फिक्का सावित गरिदियो ।
सँधै एमालेको प्रमुख प्रतिस्पर्धी रहेका थापाले बालकोटबाट पार्टीको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुग्दा एमालेभित्र चरम असन्तुष्टि थियो । तर, चुनाव नजिकंदै गर्दा असन्तुष्टिको स्वर मत्थर हुँदै गएको थियो ।
एमालेको आफ्नै उम्मेदवार नभएकाले कांग्रेसीकी उपाध्याय बिहीबार विहानसम्म पनि झिनो मतान्तरमा आफू जित्न सकिने आशामा थिइन् । चुनावी सभामा ‘समानुपातिकको १ नम्बर छोडेर जनताबाट अनुमोदित हुन आएकी हुँ’ भन्ने गरेकी उपाध्यायका लागि सिंहको जित आफ्नो राजनीतिक ‘करियर’को अर्को खराब रकेर्ड बन्न पुग्यो ।
दुई पटक समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी डिनाले प्रत्यक्षतर्फको चुनावमा चौंथो पटक प्रयास सफल हुन सकिनन् । तर, दीपकबहादुर सिंह भने पाँचौं प्रयासलाई सार्थक बनाउँदै सांसद बनेका छन् ।