गठबन्धनको बैठकमा किन उपस्थिति भएनन् गगन थापा ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २०, मंसिर ४ गतेको चुनावपछि सोमबार पहिलोपटक सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो। बैठकले चुनावी परिणामले सत्ता गठबन्धनको आवश्यकतालाई अनुमोदन गरेको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिने निर्णय लियो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।’

गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृृत समाजवादीका शीर्ष र दोस्रो तहका अधिकांश नेताहरू उपस्थिति हुँदा बैठकमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने देखिएन।

आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै कांग्रेस संसदीय दलको नेता बन्ने कसरतमा लागेका महामन्त्री थापा र अर्का महामन्त्री शर्मा बालुवाटार बैठक नजाँदा चासोका साथ हेरिएको छ।

कांग्रेसबाट सभपाति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृृष्ण सिटौला उपस्थित थिए। माओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङसहितका टिम उपस्थिति भयो। समाजवादीबाट अध्यक्ष नेपालसहित अक्सर बैठकम जाने उपाध्यक्ष प्रवेश हमाल, महासचिव वेदुराम भुसाल सहभागी भए।

जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू बालुवाटार पुगे। चारै पार्टीका दोस्रा तहका नेतााहरू उपस्थित हुँदा कांग्रेसमा निर्णायक अवस्थामा रहेका महामन्त्रीद्वय नजानुका पछाडि उनीहरूलाई प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट बोलावट नै नभएको पाइएको छ।

महामन्त्री थापाको सचिवालयले बालुवाटार बैठकमा नबोलाइएको जानकारी दियो। ‘गगन दाइलाई बैठकमा आउन खबर नै थिएन। कसरी जानु र? थापाका स्वकीय सचिव सविन मुडवरीले भने।

चुनावमा पराजित भएका र आफ्नो समूहको अस्तित्व करिब सकिएका सिटौलालाई सभापति देउवाले निर्णायक बैठकमा बोलाउँदा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहेका थापा र शर्मालाई नबोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

थापामाथि हालै सम्पन्न चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर कांग्रेस र गठबन्धनका उम्मेदवारमाथि अन्तरर्घात गरेको आरोप छ। उनीहरूको उपस्थितिबारे सोध्दा बालुवाटार स्रोतले नेताहरूको नेताहरुको निर्देशनअनुसार नै खबर गरिएको बतायो। ‘नेताहरूले भनेअनुसार नै खबर पठाइएको हो। उनिहरूलाई बोलाउने आवश्यकता परेन होला’, देउवा निकट एक नेताले भने।

प्रकाशित : 6 December, 2022

प्रतिक्रिया दिनुहोस्