निर्वाचन आयोगले आज समानुपातिकको सूची सार्वजनिक गर्ने

काठमाडौं । मंसिर २६, निर्वाचन आयोगले आज समानुपातिक तर्फ राजनीतिक दलहरुले पेश गरेको सांसदहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी भएको हो ।
आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो ४ बजेसम्म तोकेको छ । दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको आयोगले जनाएको छ ।
समानुपातिकको सूची सच्याएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ । समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी आयोगको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन् ।
यस्तै प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपामाओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाएर समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।