फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी

काठमाडौं । पुस ८, नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई रिहा गरेर पुनः नेपाल आउन नपाउने गरी स्वदेश फिर्ता गर्ने तयारी भइरहेको छ ।
न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो ।
सर्वोच्च अदालतको आदेशपछि उनलाई आज अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारले जनाएको छ ।शोभराज माथि २०३२ सालमा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाण्डौको मनोहरामा र त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेको आरोप थियो ।
हत्यापछि फरार शोभराज २०६१ सालमा पुनः काठमाण्डौ आएका बेला पक्राउ परेका थिए । काठमाण्डौ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरकरफरक समयमा जन्मकैदको फैसला भएको थियो।
दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको समेत आरोप छ । पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।
अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ । तर अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि के गर्ने भनेर टुङ्गो लाग्न बाँकी रहेको बताउनुभएको छ ।