कांग्रेसले थाल्यो सांसदहरूको हस्ताक्षर संकलन

सहयात्रा टिभी

काठमाडौं । पुस ९, नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको छ। शुक्रबारदेखि हस्ताक्षर संकलन सुरु भएको र शनिबार पनि जारी रहेको एक सांसदले जानकारी दिए।

उनका अनुसार कुनै पनि बेला प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले आफ्नो पार्टीको तर्फबाट हस्ताक्षर संकलन गरिराखिएको हो। दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिले दिएको म्याद आइतबार बेलुकी सकिँदैछ।

कांग्रेससँग प्रतिनिधि सभामा ८९ जना सांसद मात्रै छन्। ऊ एक्लैको बहुमत नपुग्ने भएकाले उसले सत्ता गठबन्धनको साथमा सरकार गठनको लागि प्रयास गरिरहेको छ। तर, सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट आफूले सुरुमा प्रधानमन्त्री बन्न पाउनुपर्ने माग राखेका छन्। तर कांग्रेस प्रचण्डलाई सरकारको नेतृत्व नदिने अडानमा छ।

कांग्रेसको पुस ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफूले सरकारको नेतृत्व दाबी गर्नु स्वभाविक भएको निर्णय गरेको थियो। त्यसका लागि गठबन्धनमा रहेका लगायतका दलसँग छलफल प्रारम्भ गर्ने निर्णय गरेको थियो।

प्रकाशित : 24 December, 2022

प्रतिक्रिया दिनुहोस्