दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु

सहयात्रा टिभी

काठमाडौ । पुस १०, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु हुने भएको छ ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ ।

अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेको छ । प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् ।

दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । पाँच करोड २० लाख रुपैयाँ लागतमा प्रदेश सभा भवन तयार भइसकेको छ । लुम्बिनी प्रदेश सभाको बैठक पनि स्थायी राजधानी दाङमा नै बस्दैछ ।

प्रदेश सभा सचिव पुनमगरले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको जानकारी दिनुभयो । पुस १५ गतेदेखि २१ गतेको बीचमा नै शपथ ग्रहण गराउने तयारी छ ।

प्रकाशित : 25 December, 2022

प्रतिक्रिया दिनुहोस्