सुशील श्रेष्ठ अभिनीत फिल्म ‘द आउट ल’को पोस्टर सार्वजनिक

काठमाडौं । पुस १५, अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ ।
फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि फिल्ममा अभिनय हुनेछ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ ।
सन् २०१५ मा ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेका उनले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । शिक्षा चाहिं मोडलिङ क्षेत्रमा सक्रिय छिन् ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत ‘प्रेमगीत ३’का कला निर्देशक समेत हुन् । निर्माता शशांक खड्काले छायांकनको तयारी पूरा भएको बताए ।
पुस २१ गतेदेखि छायांकन सुरु हुनेछ । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,’ खड्काले भने । फिल्मलाई नवीन गुरुङले खिच्नेछन् । करिब दुई करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।