सरकारले उद्योगी व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्ने गृहमन्त्री लामिछाने

काठमाडौं । पुस २०, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो ।
उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने काममा नचुक्ने प्रतिबद्धतासमेत जनाउनु भयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो ।
उहाँले उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नुनपर्ने बताउनुभयो । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिन उहाँको आग्रह छ ।
गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिनुभयो । उहाँले उद्योगी व्यवसायीले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै देशको उन्नति हुने बताउनु भयो ।
उहाँले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको सङ्ख्या ठूलो रहेको भन्दै फोहर सफा गर्न समय लाग्ने बताउनुभयो । आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएकोले कानुनी परिधिभित्र रहेर काम गर्ने उहाँको भनाइ छ ।