बाग्मती प्रदेश प्रमुखले सरकार गठनका लागि पाँच दिनको समयसीमा आह्वान

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, बाग्मती प्रदेशलाई सरकार गठनका लागि पाँच दिनको समयसीमा दिइएको छ । बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

अहिले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएर स्वीकृत भएर पनि प्रदेशको काम गरिरहनुभएको छ ।

यस प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले दलहरुलाई आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालय हेटौँडाका प्रवक्ता प्रकाश चापागाईँले बताउनुभयो ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय सीमा दिनुभएको उहाँले बताउनु भयो ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गते सोमवार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

१ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । बाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित : 5 January, 2023

प्रतिक्रिया दिनुहोस्