पुस २७ मा सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार

सहयात्रा टिभी

काठमाडौं पुस २३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माग बमोजिम पुस २७ गते सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार भएको छ। बिहीबार तयार पारिएको सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदामा यो विषय समेटिएको छ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ।

कार्यदलले तयार पारेको शनिबार शीर्षस्थ नेताहरूसमक्ष पेस गरिने छ। शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी भने छैन। उसले सरकारमा सहभागिताका लागि राखेका शर्तहरूमा पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने विषय पनि थियो।

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ।

प्रकाशित : 7 January, 2023

प्रतिक्रिया दिनुहोस्