प्रारम्भिक क्षतिको विवरणमा भूकम्पबाट बाजुराका केही घर भत्किए

काठमाडौँ । माघ १०, बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
स्रोतका अनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ । वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् ।
अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको जानकारी प्राप्त भएको छ । सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।