प्रतिनिधिसभामा सांसदले भने– ‘प्रेमप्रसाद आचार्यको जस्तो नियति कुनै नेपालीको नहोस्’

सहयात्रा टिभी

काठमाडौँ । माघ १८, प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियति नहोस् भन्दै कामना गरिन् । उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा मङ्गलवार राती भएको भीषण आगलागीमा करोडौँ क्षति भएको र दमकल समयमा नपुगेको गुनासो गरिन् ।

यस्तै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशको विभिन्न नागरिकहरूले आत्मदाह र आत्महत्या गरिरहेको बताउँदै उनीहरुले के कारणले आत्मदाह र आत्महत्या गरिरहेका छन् भन्दै प्रश्न गरे । उनले नागरिकका समस्या के–के छन् ध्यान दिन आग्रह गर्दै आत्मदाह र आत्महत्याको घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरे ।

यस्तै सांसद अच्युतप्रसाद मैनालीले बैठकको शून्य समयमा बोल्दै पूर्व पश्चिम लोकमार्गको तामागढीमा ३ वर्षदेखि पुल निर्माणको काम भएपनि त्यसको भौतिक अवस्थाले गिज्याइरहेको उल्लेख गरे ।

प्रकाशित : 1 February, 2023

प्रतिक्रिया दिनुहोस्