असिम शाहको प्रश्न राजनीतिक चलचित्रको नायक–खलनायक को हो ?

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपालको राजनीतिलाई चलचित्रको संज्ञा दिँदै यहाँ नायक र खलनायक चिन्नै गाह्रो भएको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफू चलचित्र निर्देशन छाडेर राजनीतिमा आएको तर राजनीतिको चलचित्र देखेर अलमलिएको बताए ।

उनले अगाडि भने, ‘मैले बनाउने चलचित्रमा पात्रहरु, मेरा कथाहरु स्पष्ट हुन्छन्, नायक को हो, खलनायक को हो स्पष्ट हुन्छन्, तर यहाँ नायक को हो, खलनायक को हो चिन्न नै गाह्रो हो ।

अस्तिसम्म नायक देखिएका पात्रहरु खलनायक जस्ता देखिन थाले, खलनायक जस्ता देखिएका पात्र नायकजस्ता देखिन थाले । ’सांसद शाहले रास्वपा सांसद रवि लामिछानेलाई इंगित गर्दै राजनीतिक चलचित्रमा एउटा पात्रलाई डाँडा कटाइएको बताए ।

उनले राजनीतिक चलचित्रको पटकथा कसले लेखेको छ र निर्देशक को हो भनी प्रश्न गरे । चलचित्र जस्तो भए पनि मौलिकता बोकेको र नेपाली माटो सुहाउँदो हुनुपर्ने उनले बताए । ‘हामीलाई चाहिने नेपाली राजनीतिक चलचित्र नै हो, यो कथा नेपालीले नै लेखेको हुनुपर्छ ।’

यो चलचित्रको अन्त्य पनि संयोगान्त हुनुपर्ने सांसद शाहले बताए । ‘म कामना गर्छु यो राजनीतिक चलचित्र जुन दुई महिनादेखि देखिरहेका छौं, यसको अन्त संयोगान्त होस्, भोलि जनतामाझ जाँदा हामीले माला लगाएर स्वागत गर्न पाउने माहोल बनोस् ।’

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्