फिल्म ‘अवतार २’ विश्वमा धेरै कमाउनेको सूचीमा तेस्रो बन्यो

काठमाडौं । फागुन ८, जेम्स क्यामरुन निर्देशित हलिउडको ब्लकबस्टर फिल्म ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्मको सूचीबाट पछि हटेको छ ।
यो फिल्मलाई क्यामरुनकै अर्को फिल्म ‘अवतार : द वे अफ वाटर’ले उछिनेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ ।
पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ । जबकि ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ ।
अब भने ‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्स स् इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि तेस्रो स्थानमा छ ।
दुई बिलियन डलर वा सोभन्दा बढी कमाइ गर्ने तीन फिल्मका एक मात्र फिल्म निर्माता क्यामरुनले अहिलेसम्मको पहिलो, तेस्रो र चौथो सबैभन्दा ठूलो रिलिज निर्देशन गरेका छन् । आईम्याक्स स्क्रिनमा फिल्मले २५ करोड डलर कमाएको छ । यो कमाइ फिल्मले अन्य हलमा कमाउने भन्दा बढी रकम हो ।