सेनाका उपरथी प्रेम शाही सेवाबाट निष्कासित

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट निष्कासित भएका छन् । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी शाहीलाई सेवाबाट निष्कासन गरेको हो ।

उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि बिहीबार सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट निष्कासित गरेको नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।

यस्तै शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको प्रवक्ता भण्डारीले बताए । झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाइएको हो ।

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाइएको थियो ।

उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालतअन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए । अब उक्त कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले छानबिन गरेको प्रमाणका आधारमा निर्णय गरेको छ । ‘कोर्ट मार्सल (सैनिक अदालत) को निर्णयअनुसार शाहीलाई सेवाबाट निष्कासित गरिएको छ । कति रकम कहाँ-कहाँ अनियमितता गरेको भन्ने फैसलाको पूर्णपाठ भने आउन बाँकी छ‚’ प्रवक्ता भण्डारीले भने‚ ‘यो प्रारम्भिक फैसला हो ।’ यसअघि प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई बुधबार सर्वोच्च अदालतले तीन दिनभित्र हाजिर गराउनका लागि नेपाली सेनालाई आदेश दिएको थियो ।

शाहीलाई गत पुस ४ गते उपरथीको ५८ वर्ष उमेर हदका कारण अवकाश दिइएको थियो । त्यसमा चित्त नबुझाएर शाही सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले पुस १३ गते अवकाश नदिन आदेश दिएको थियो । त्यसलगत्तै सैनिक मुख्यालयमा हाजिर हुन पुगेका उनलाई आर्थिक हिनामिनाको आरोपमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्