सुदूरपश्चिममा दलहरुबीच मन्त्रालय भागबण्डाका विषयमा छलफल

काठमाडौँ । फागुन १९, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुपूर्व दलहरुबिच विभिन्न कोणबाट छलफल अगाडि बढेको छ ।
सरकार बाहिर रहेका नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन छलफल अगाडि बढेको हो ।दलहरुबीच सरकारको नेतृत्वदेखि मन्त्रालय भागबण्डालगायतका विषयमा छलफल चलिरहेको छ ।
मुख्यमन्त्री शाहले राष्ट्रपति निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा बनेको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारलाई फागुन २१ गते विश्वासको मत दिने विषयमा गठबन्धनका घटकहरु सहमति नजिक पुगेको बताइएको छ ।
सभामुख भीमबहादुर भण्डारीले भने, ‘फागुन २१ गते मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने तयारी छ । त्यसैअनुसार मौखिक जानकारी मकहाँ आएको छ ।
फागुन २१ गते विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान गर्न मकहाँ २ दिन अगाडि लिखितपत्र आउनुपर्ने हुन्छ । तर अहिलेसम्म प्राप्त गरेको छैन ।’