प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितसँग वार्ता गर्ने तयारी

काठमाडौं । चैत १४, सरकारले मिटर ब्याज पीडितसँग वार्ता गर्ने तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
न्याय माग्दै देशका विभिन्न स्थानबाट पैदल हिँडेर काठमाडौंमा आइ आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्ने तयारीमा सरकारले समिति गठन गरेको जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेको बुझीएको छ ।
समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।
चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका छन् । उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो ।
त्यहाँ गृह मन्त्रालय सहसचिव केदारनाथ शर्माले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेका थिए ।