गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । चैत १५, राष्ट्रिय सभामा बोल्दै प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर सरकारसँग प्रश्न गरेका छन् ।
मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको लिङ्देनले बताए ।
अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरेका छन् ।
उनले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले अनदेखा गरिरहेको बताए । ‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने भइरहेको छ’ उनले भने ।
सैद्धान्तिक रुपमा आफूहरु प्रदेश संरचनामा विमति राख्ने भन्दै लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो हुने बताए । ‘हामीले कुनै बेला द्वन्द्व पनि ल्याउँछ भनेका थियौं, अहिले पूर्वमा त्यही भइरहेको छ’ उनले भने ।
पूर्वमा भइरहेको आन्दोलनप्रति सरकारको के छ भन्दै उनले सरकारसँग जवाफ मागेका छन् ।