प्रधानमन्त्री प्रचण्डले मागे मन्त्री बन्नेहरुको नाम, ३ बजे शपथ

सहयात्रा टिभी

काठमाडौं । चैत १७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्री दाहालले सत्तारूढ दलका शीर्ष नेताहरूसँग विभिन्न चरणमा एकल र सामूहिक संवाद गरेपछि मन्त्रिपरिषद् विस्तारको आधार बनेको छ। शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘राज्यमन्त्री भने थपघट हुन सक्छ।’

प्रधानमन्त्रीले बिहीबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत, लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतसँग छलफल गरेका थिए। सहमतिलाई शुक्रबार बिहानसम्म अन्तिम रूप दिएर अपराह्न नयाँ मन्त्रीहरूलाई शपथ खुवाउने तयारी रहेको छ। ‘दिउँसो ३ देखि ४ बजेसम्मलाई शपथको समय तय गरिएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने।

कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन्। यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन्।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । तर मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् ।

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्