१०६ वर्षीया वृद्धा भग म्यागजिनमा मोडलको रुपमा
काठमाडौँ । चैत १९, फेसनको बाइबल मानिने भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ ।
यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् ।
उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी सिद्ध गरिरहेकी छन् ।
मनिलाबाट करिब १५ घण्टा उत्तरमा रहेको कलिंगा प्रान्तको बस्कलनको पहाडी गाउँमा बस्दै आएकी उनलाई देशको सबैभन्दा पुरानो माम्बाबाटोक वा परम्परागत कलिंगा ट्याटुस्ट मानिन्छ ।
‘आफ्नो पुस्ताको अन्तिम माम्बाबाटोकको रूपमा उनले कलिंगा जनजातिका प्रतीकहरू मानिने शक्ति, बहादुरी र सौन्दर्यलाई हजारौं मानिसको छालामा छापेकी छिन्, जसले बुस्कलनको तीर्थयात्रा गरेका छन्,’ भग फिलिपिन्सले एक पोस्टमा भनेको छ ।