चित्रबहादुर केसीद्धारा सरकारको न्यूनतम साझा कार्यक्रमप्रति असन्तुष्टि

काठमाडौं । चैत २४, सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति असन्तुष्टि रहेको जनाएका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफू चितवनमा भएका बेला फोनमा कुराकानी हुँदा आफूले न्यूनतम साझा कार्यक्रममा केही राम्रा कुरा पनि छन् मात्र भनेको तर पुरै समर्थन रहेको जसरी आफ्नो हस्ताक्षर प्रयोग गरिएकामा उनले असन्तुष्टि जनाए ।
शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफूले केही कुरा राम्रा छन् भनेकोमा प्रधानमन्त्रीलाई समर्थन गरेको भ्रम भएको टिप्पणी गरे ।
न्युनतम साझा कार्यक्रममा संघीयता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक र नागरिकताको विषयमा आफ्नो दलको प्रष्ट विमति रहेको केसीले बताए ।
केसीले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषय पनि आफ्नो दलले स्वीकार नगर्ने बताए ।
लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका दलहरु दलगत र निजी स्वार्थमा लागेर न्यायपालिका, अख्तियार, संवैधानिक निकाय सबैतिर सेटिङ गरेर संसदीय व्यवस्थालाई विकृत बनाएकाले जनतामा व्यापक घृणा र वितृष्णा बढेको केसीले उल्लेख गरे ।
नयां भनिएका शक्तिहरु विदेशी शक्ति राष्ट्रको एजेण्डामा हिँडेर लोकतन्त्र र गणतन्त्रमाथि चुनौती थपेको केसीले टिप्पणी गरे ।