उपचुनावमा रविलाई गत मंसिरको भन्दा धेरै मत प्राप्त

काठमाडौँ । बैशाख १२ , चितवन क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपा अध्यक्ष रवि लामिछानेलाई धेरै मत प्राप्त भएको छ । गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रवि लामिछानेले पाएको मत भने बढेको छ ।
जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।
चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो । जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् ।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।