बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरा । बैशाख १५, बाजुरामा गए राति ५. ९ म्याग्निच्युडको भूकम्प भएको छ ।
जिल्लाको गौमुल गाउँपालिकास्थित दहकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको हो । गए राति १ बजेर ३० मिनेटमा बाजुरामा ५. ९ म्याग्निच्युडको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
केन्द्रकाअनुसार बिहीबार राति ११ बजेर ५८ मिनेटमा दहकोट आसपासमै केन्द्रबिन्दु बनाएर ४. ९ म्याग्निच्युडको भूकम्प भएको थियो । सोही ठाउँमा करिब २ घण्टापछि अर्को ठूलो भूकम्प भएको हो ।
मध्यरात भूकम्प हुँदा स्थानीयहरूबीच होहल्ला मच्चिएको थियो । ‘भूकम्प आयो’ भनेर स्थानीयहरू कराउँदै घरबाहिर निस्केका थिए । बाजुरामा गत माघदेखि पटक पटक भूकम्प भइरहेको छ । यसबाट जिल्लावासी त्रसित छन् ।
गए राति पनि भूकम्पको डरले कतिपय ठाउँका स्थानीयहरू रातभर जागराम बसे । भूकम्पका कारण कहाँ, के/कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ । क्षतिको विवरण संकलनका लागि जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का जानकारी दिएका छन् ।