भीमफेदी कारागारमा उत्पादित मुढाको चीनमा उच्च माग

सहयात्रा टिभी

मकवानपुर । बैशाख २०, भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चीनतर्फ निर्यात हुन थालेको छ ।

गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो । भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो ।

उनका अनुसार ४ लाख ४० हजार मूल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चिनको तिब्बततर्फ निर्यात भएको हो । ‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरूले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरू निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट बढी माग आएको ब्यापारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्