देशभरी १४ हजारमा डेंगु संक्रमण फैलिदै १० जनाको मृत्यु

काठमाडौँ । साउन ३२, पछिल्लो केही दिनदेखी नेपालमा डेंगु संक्रमण बढिरहेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरी ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।
७५ जिल्लामा गरेर पुसदेखि अहिलेसम्म १४ हजार ३५७ जनामा डेंगु आधिकारिक रुपमा पुष्टि भइसकेको छ। यसमध्ये १० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ४ वटा जिल्लामा ५ सयभन्दा बढी बिरामी फेला परेका छन्। सबैभन्दा बढी सुनसरीमा पुसदेखि हालसम्म देशभर देखिएका कुल संक्रमितमध्ये आधा बिरामी छन् । सुनसरीमा ७ हजार ४९५ बिरामी फेला परिसकेका छन्।
सुनसरीपछि मोरङमा एक हजार ६७६, धादिङमा एक हजार ३२० र झापामा ९१३ संक्रमित फेला परेका छन्।
काठमाडौं उपत्यकामा पनि संक्रमण देखिने क्रम बढ्दो छ। काठमाडौंमा १९९, ललितपुरमा ११७ र भक्तपुरमा १०४ जनामा आधिकारिक रुपमा डेंगु पुष्टि भएको तथ्यांक छ।