मेडिकल काउन्सिलद्धारा डा. मन्सुरको उपचार विधि अवैज्ञानिक रहेको ठहर

सहयात्रा टिभी

काठमाडौँ । भदौ १, नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ ।

अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै काउन्सिलले उनलाई सचेत गराएको छ ।

डा . मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच नामक क्लिनिकमा गैरव्यवसायिक ढंगले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो ।

उक्त उजुरीबारे छानबिनपछि नेपाल मेडिकल काउन्सिलको गत साउन २६ गते बसेको पूर्ण बैठकले उपचारका लागि आएका सबै बिरामीलाई एकै प्रकारको डाइट प्लान दिनु सरासर अवैज्ञानिक रहेको ठहर गरेको हो ।

साथै काउन्सिलले गैरवैज्ञानिक उपचार विधि तत्काल रोक्न, बिरामीलाई सामूहिक नभई व्यक्तिगत रुपमा परामर्श र उपचार गर्ने तथा बिरामीलाई दिइएका सम्पूर्ण निर्देशनहरु अनिवार्य अभिलेखीकरण गर्न पनि निर्देशन दिएको छ ।

डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीहरुले गुनासो गर्दै आएका थिए । यस विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि काठमाडौं महानगरपालिकाले डा. मन्सुरको क्लिनिकसमेत बन्द गराएको थियो ।

 

प्रकाशित : 18 August, 2023

प्रतिक्रिया दिनुहोस्