चितवनको विपी क्यान्सर अस्पतालका जनरल बेड निःशुल्क

काठमाडौँ । भदौ १३, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।
पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् ।
यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ ।
अस्पतालको तर्फबाट एक महिलासहित दुई डाक्टर नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिनुभयो ।
लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो ।