जनकपुरधामको प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रेर थन्कियो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्किएको छ ।

अस्पतालमा दैनिक आउने १० देखि १५ जना गम्भीर प्रकृतिका बिरामी सिटी स्क्यान गराउन निजी प्रयोगशालामा जान बाध्य छन् ।

निजी प्रयोगशालामा सिटी स्क्यान गरेको १० देखि २५ हजार रुपैयाँसम्म शुल्क लाग्छ । जुन प्रादेशिक अस्पतालमा ४ देखि १० हजार रुपैयाँमा हुने थियो ।

करिब १० वर्षदेखि सञ्चालित फिलिप्स कम्पनीको सिटी स्क्यान मेसिन ६ महिनाअघि बिग्रेपछि मर्मत गरिएको छैन ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवका अनुसार वर्षाको पानी चुहिएर सिटी स्क्यान मेसिनको ट्युब खराब भएको छ । यसलाई मर्मत गर्न ९० लाख रुपैयाँ पर्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा मधेश सरकारले सिटी स्क्यान मेसिन किन्न जनस्वास्थ्य आपूर्ति केन्द्रलाई बजेट दिएको छ । त्यसैले अस्पतालले पुरानो मेसिनलाई धेरै रकम खर्च गरेर बनाउनुभन्दा जनस्वास्थ्य आपर्ति केन्द्रले नै नयाँ मेसिन किनेर दिने प्रतिक्षामा थियो ।

यसकारण पनि बिग्रेको २\३ महिनासम्म बनाउने कि नबनाउने भनेर अलमल भएको रजिष्ट्रार यादवको भनाइ छ ।

 

 

 

प्रकाशित : 11 November, 2024

प्रतिक्रिया दिनुहोस्