म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने सरकारको तयारी

सहयात्रा टिभी

काठमाडौं । माघ ७, म्याग्दीको ९५ प्रतिशतभन्दा धेरै घरपरिवारमा बिजुलीको सुविधा पुगेपछि म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ ।

सबै घरपरिवारमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्डअनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको भन्दै कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले पालिकामार्फत तथ्याङ्कलाई पुष्टि गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको बताउनुभयो ।

केन्द्रीय लाइन र लघुजलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि पालिकामार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

 

प्रकाशित : 20 January, 2025

प्रतिक्रिया दिनुहोस्