हिमाली चार जिल्लामा एचपीभी खोप अभियान प्रभावित

काठमाडौँ । फागुन ७, प्रतिकूल मौसमका कारण हिमाली चार जिल्लामा एचपीभी खोप अभियान प्रभावित भएको छ ।
प्रतिकूल मौसमका कारण मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एचपीभी खोप अभियान स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले मन्त्रालयले थालेको अभियानलाई प्रभावित जिल्लामा मौसममा सुधार आउनासाथ शुरू गरिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको छ ।
मन्त्री पौडेलले १५ दिने एचपीभी खोप अभियान सफल बनाउने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी विद्यालय सबैलाई सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्नुभएको छ ।
त्यस्तै पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न आउँदा वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभएको छ ।
मन्त्री पौडेलले महिलाहरूलाई क्यान्सरबाट जोगाउन मन्त्रालयले शुरुआत गरेको पाठेघरको मुखको परीक्षण अभियानसमेत सफल पार्न सबैमा आग्रह गर्नुभएको छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाको सङ्ख्या उच्च छ । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।