टिचिङमा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा अवस्था नाजुक

काठमाडौँ । फागुन २०, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा अवस्था नाजुक बनेको छ ।
पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु आजित भएका छन् ।
अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार अस्पताल परिसरको बोरिङले पानी तानेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भएको छैन ।
त्यसैले पानीको अभाव भएको उनले बताइन् । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ ।
अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।
केयूकेएल स्रोतले भन्यो, ‘अस्पतालमा पानी आपूर्ति बन्द भएको थाहा पाएपछि गएको रातभरि पानी पठाइएको छ । थप आवश्यक परे ट्याङ्करबाट पनि पठाउने छौँ । अझै पनि केही समस्या रहेछ भने समाधानको तत्काल पहल गर्छौं ।’