भारतबाट नेपालमा अवैध चाँदी तस्करी गर्ने पाँच जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । फागुन २१, भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको खुलेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले अवैध चाँदीसहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको खुलेको हो ।

स्थलमार्गबाट तराईका जिल्ला हुँदै संघीय राजधानी काठमाडौंसम्म ल्याएर चाँदीको अवैध कारोबार हुने गरेको खुलेको छ ।

चाँदी तस्करी गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूमा बाराको कलैया नगरपालिका–८ खपरटाटा घर भएका २८ वर्षीय गणेश साह, कलैया–८ कै ३४ वर्षीय प्रेमकुमार कुशवाह, बाराकै जितपुर सिमरा उपमहानगरपालिका–१६ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीया विपना सार्की, पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगुवा गाउँ बस्ने ३२ वर्षीय दिनानाथ साह सुनार र बाराकै कलैया नगरपालिका–८ घर भई काठमाडौं नरेफाँट बस्ने ३४ वर्षीय सन्तोषकुमार साह छन् ।

भारतबाट भन्सार छलेर तस्करी गर्दै चाँदी काठमाडौं ल्याएर बेचबिखन गर्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिलरले अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले बताए । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन ललितपुर बुझाइएको छ ।

 

प्रकाशित : 5 March, 2025

प्रतिक्रिया दिनुहोस्